Sunday, January 5, 2020

बिरालो
-मिथिलेश आदित्य
मयाऊँ...मयाऊँ...
गरिरहेको छ बिरालो
कुनै जमानामा—
बाघ थियो ऊ
त्यसबेला ऊभित्र—
एउटा दम्भ थियो बहादुरीको
विश्वास थियो ।

सबैलाई आतंकित पार्दै ऊ
निश्चिन्त राज गरिरहेको थियो जंगलमा
ऊ जंगलमा—
आफनो आधिपत्य जमाउनुको अहम्मा
निर्दोषहरुको शोषण गथ्र्यो
शिकार गथ्र्यो निरीह जन्तुहरुको
खोसेर अरुको भोगाइ र अधिकार
मुस्काउँथ्यो एउटा आल्हादित मुस्कान
तर आज ऊ निर्दोषहरुको अभिशापले
पश्चात्तापको अाँसु बगाइरहेको छ ।


समयले अजङको उसको स्वरुपलाई
फेरि पूर्व प्रारुप
बिरालोमा अनुवाद गरिदिएको छ ।

यदि उसले अझ पनि—
गर्यो भने निर्दोषहरुको शोषण
दियो भने निर्दोषहरुलाई दुःख
निश्चित छ—
बाघबाट बिरालो बनेको ऊ
मुसा हुनेछ
निरीह र शक्तिहीन ।

र आफ्ने छायाँले
लखेटेर खेद््ने छ उसलाई
उसको राज्य
एउटा साँघुरो र अँध्यारो
दुलो हुनेछ ।
०००

No comments:

Post a Comment