Sunday, January 5, 2020

म तिमीलाई बिर्सन चाहान्छु
-मिथिलेश आदित्य
म तिमीलाई बिर्सन चाहन्छु
तर तिमी सधैं याद आउँछौ
मेरो निर्जनतामा
र अवतरित हुन्छ्यौ एकाएक
मेरो लेखनीसंगै
मेरो जीवनको सादा पानामा ।

जहाँ तिमी रुन्छ्यौ भक्कानिएर
र मलाई रुवाउँछौ
म रोएको देखेर
तिमी एकाएक हाँस्न थाल्छ्यौ
र मलाई पनि हँसाउँछौ ।

फेरि तिमी मलाई—
आफू नजिक बसाएर
सुनाउँछौ आफ्नो अतीत
र म क्रमश ः
तिम्रो संसार र अतीतमा हराउँछु
र एउटा यायावर जस्तै यात्रारत म
देख्छु, एउटा संसारबाट कैयौं संसार
सम्झन्छु, एउटा अतीतबाट कैयौं अतीत
जहाँ ध्वस्त हुन्छन्, कैयौं विचारहरु
परिदृश्यित हुन्छन्
प्रेम र प्रेम गरिने तरिका
तिम्रो र मेरो प्रेम बीचका
कैयौं दुशमन ÷ इष्र्या —
विश्वास , अविश्वास
पीड़ा र पीड़ाका कैयौं अनुहार
सोच र चिन्ताका कैयौं प्रतिबिम्ब
खुशी र खुशीका कैयौं शृङ्गखला
जीवन बाँच्नुको उखान

सँगै मर्ने बाँच्ने वाचा र संकल्प
पश्चातापका शब्द र मौनता ।

म आज —
तिम्रो अतीत र संसार देखेर
देख्छु पूरा संसार
बाँच्छु, पूरा संसार
अब आजदेखि
मलाई आवश्यक छैन
संसार देख्नेको तृष्णा —
अतीतलाई —
पल्टाउँदै हेर्नुको अर्थ र औचित्य
तिमीलाई भेटेर
तिम्रा यावत कुराहरु थाहा पाएर
तिमीलाई विर्सनु
मलाई एउटा घात प्रतीत हुन्छ
अतीतले डसिरहेछ मलाई
एउटा सर्प भएर
यस्तो परिवेशमा ÷ परिस्थितिमा
तिमीले नभन्नु मलाई
मलाई बिर्स ।


तिमी सर्धै — सधैं
मेरो एकान्तमा
एकाग्रमा
चिन्तामा
खुशीमा
अवतरित हुन्छ्यौ र बग्छ्यौ
शब्द भएर, अक्षर भएर
मेरो जीवनको सादा पानामा
जहाँ तिमी हुन्छयौ
हुन्छ तिम्रो अतीत
हुन्छ तिम्रो संसार ।

विन्ती, तिमी मलाई नभन
तिमी मलाई विर्सन
सत्य, म तिमीलाई बिर्सन खोज्छु
र पनि बिर्सन सक्दिनँ ।
०००

No comments:

Post a Comment