Monday, December 30, 2019

एउटी युवती र म
-मिथिलेश आदित्य
धैरे दिनदेखि —
एउटी युवतीले राखेकी छे
आफूसंग एउटा रङ्गीन डायरी ।

यो डायरीको सादा पानामा
कहिलेकाहीँ लेख्छे ऊ
जीवनको एक्लोपन
र अनुभूत गर्छे शून्यता ।

म सोच्छु
आखिर अझ के लुकाएकी छे उसले
यो डायरीको पानामा
सायद सुनौलो भविष्य
अथवा आफ्नै प्रेमकथा
र अरु केही ।

ऊ लेख्न चाहदिन यो डायरीमा
ती कुरा
जसले हुनसक्छ अनर्थ
नाङ्गिन सक्छ पुरुष समाज
मेटिनसक्छ देशको भविष्य
अथवा ऊ आफ्ै हुनसक्छे
र्निवस्त्र ।

म सोच्छु
युवतीले दिनहुँ
यसरी नै लेखोस् डायरी
जहाँ होस कविता
गीत या गजल
अथवा  —
जीवनका लागि मार्गदर्शन
र शान्ति र अमन चैनका कुरा
म यही सोच्न सक्छु
युवतीको बारेमा
भलै उसले मलाई चिनोस या नचिनोस  ।

तर म सोच्छु
यस्तै—यस्तै  ।

एउटी युवती छे
ऊसंग एउटा डायरी छ
जहाँ कहिलेकाहीँ लेख्छे ऊ
जीवनको एक्लोपन
र अनुभुत गर्छे शून्यता  ।
०००

No comments:

Post a Comment