Friday, December 13, 2019

लामखुट्टे
-मिथिलेश आदित्य
लामखुट्टेको दुर्बल समाज
वातावरण र जिन्दगी देखेर
मान्छे गर्दे आइरहेकोछ
उसको हत्या
साथै आरोपको कठघरामा उभिएर
उद्घोष गरिरहेछ —
लामखुट्टे रगत पिएर फैलाइरहेछ
मलेरिया ÷ फ्लेरिया ÷ डेंगु
र अन्य धेरै रोगहरु
र भनिरहेछ
यसले न आनन्दले सुत्न दिन्छ
न निर्धक्क ब्यूँझन
सधैं कान नजिक आएर
बिनाकारण गुनगुनाउँछ
विरहको उदास गीत

मान्छे दुःखी छ ऊसँग

मान्छे र लामखुट्टेबीचको
यो द्वन्द्वात्मक समाचार सुनेर
आज म लामखुट्टेमाथि
गम्भीर सोध गरिरहेको छँु
संवेदनशील छँु लामखुट्टेप्रति
उसको चिन्तन स्वाभाव र कर्मलाई
पढिरहेछँु
लामखुट्टे रगत पिउँदैन
रगत जाँच्छ
मानिसको नसा—नसामा
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
ऊभित्र रगत बग्छ कि बग्दैन
सेवाभाव उसको मनभित्र छ कि छैन ।
अर्थात् लामखुट्टे
मान्छेका सम्पूर्ण काम परीक्षण गरेर
मान्छेका मानसिकतासंग निकट हुँदै
मान्छेको कान नजिक गएर
राष्ट्रभक्ति को गीत गुनगुनाउँछ
र जागरुक बनाउँछ मन र मस्तिष्क
इमान्दारीसँगै—
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
स्नेह बढाउन चाहान्छ
र सचेत गराउँछ स्वास्थ्यप्रति ।

तर अफसोस
लामखुट्टेको सानो संसारमा
उसको सूक्ष्म स्वरुप देखेर
ऊमाथि कसैको सकारात्मक दृष्टि छैन
उसको कुनै इज्जत छैन
मान्छे उसको स्वभावलाई चिन्न चाहँदैन
ऊबाट धेरै सिक्नुपर्ने हो मान्छेले
तर अचम्भ ! सिक्न चाहँदैन ।
०००

No comments:

Post a Comment